काठमाडौँ — जेन–जी आन्दोलनका प्रदर्शनकारीहरूले भैसेपाटीस्थित मन्त्री क्वार्टरमा प्रवेश गरेका छन्। राजधानीमा भइरहेको आन्दोलनले सुरक्षा चुनौती थपेको छ। केही बेरअघि मन्त्रीहरूलाई नेपाली सेनासहित ६ वटा हेलिकोप्टरमार्फत निवासबाट सुरक्षित स्थानमा लगिएको थियो। प्रदर्शनकारीहरूले क्वार्टरमा प्रवेश गरेपछि सुरक्षा बलहरूले स्थिति नियन्त्रणमा राख्न गस्ती बढाएका छन्। जेन–जी युवा प्रदर्शनकारीहरू सोमबारदेखि देशभर विरोध प्रदर्शनमा छन्। उनीहरूको मुख्य मागमा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता, र नेताहरू तथा उनका परिवारको विलासी जीवनशैलीविरुद्धको विरोध समावेश छ।






