काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ ले अशक्त, असहाय तथा हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर पौष्टिक आहार वितरण गर्ने मानवीय र उदाहरणीय कार्यक्रम सञ्चालन गरेको छ ।

मातातीर्थ औंसीको अवसर पारेर जेष्ठ नागरिक दिवा सेवा केन्द्रसम्म पुग्न असमर्थ वडाभित्रका नागरिकहरूलाई ध्यानमा राख्दै वडाले यो कार्यक्रम सञ्चालन गरेको हो । यसका लागि वडाले १ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको जनाएको छ । उक्त बजेटमार्फत जेष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न प्रकारका पौष्टिक खाद्य सामग्री खरिद गरी वितरण गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि तथा दिवा सेवा केन्द्रका सदस्यहरुले स्वयं जेष्ठ नागरिकहरूको घरघरमा पुगेर सामग्री हस्तान्तरण गरेका थिए । यस क्रममा उनीहरूले जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था, दैनिक जीवनयापन, पारिवारिक सहयोगको अवस्था लगायत विविध पक्षबारे जानकारी समेत लिएका थिए ।

सहयोग प्राप्त गरेपछि जेष्ठ नागरिकहरूले खुशी व्यक्त गर्दै स्थानीय तहले आफूहरूको अवस्थालाई बुझेर घरमै आएर सहयोग गरेकोमा धन्यवाद दिएका छन् । उनीहरूले यस्तो कार्यक्रमले आफूहरूलाई हौसला र आत्मीयता प्रदान गरेको बताएका छन् ।

वडा अध्यक्ष सञ्जय सिग्देलले जेष्ठ नागरिकहरू समाजका अभिभावक भएकाले उनीहरूको संरक्षण, सम्मान र स्वास्थ्यप्रति विशेष ध्यान दिनु स्थानीय तहको जिम्मेवारी भएको बताए । उनले जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था तथा पारिवारिक परिस्थितिको निरन्तर अनुगमन गर्दै आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

मातातीर्थ औंसीको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले अझ विशेष महत्व बोकेको देखिन्छ । आमाको सम्मानमा मनाइने यस पर्वको सन्दर्भमा जेष्ठ नागरिकप्रति देखाइएको यस्तो आत्मीय व्यवहारले सामाजिक सद्भाव र सम्मानको भावना झल्काएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय