काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जापानसँगको सहकार्यबाट नगरको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । फोहोर मैला र सांस्कृति सम्पदा जगेर्नामा सहकार्य गर्न जेसिस इन्टरनेशनल जापानबाट आएका प्रतिनिधिहरुलाई नगरपालिकामा स्वागत गर्दै प्रमुख गिरीले आफू पनि भ्रमणका क्रममा जापानको नगर विकासबाट प्रभावित भएको बताउनु भयो । उहाँले सहकार्यले दुई देशबीच थप सम्बन्ध सुधार हुने र नयाँ सोचको विकास गर्न सकिने बताउनुभयो ।




कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठले नेपालीहरु पनि रोजगारी, अध्ययन तथा विभिन्न क्षेत्रमा जापानमा रहेकाले जापान र नेपालको सहकार्यमा थप टेवा पुग्ने बताउनुभयो । जापानमा रहेका नेपालीहरुले त्यहाँ सिकेको र नेपाल भ्रमणमा आउने जापानीहरुले यहाँबाट केही भए पनि नयाँ कुरा सिक्न मौका पाउने र सिकेका कुरा ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जेसीआई जापानका प्रतिनिधिमण्डलका सदस्य चीनी ची किटामोराले सडक पुल निर्माणमात्र नभई दैनिक जीवनमा गर्नुपर्ने लिडरसीपलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपाल जापान मैत्रीलाई निरन्तरता दिनुआग्रह गर्नुभयो । जेसीआई जापानका प्रतिनिधिहरुलाई स्वागत गर्दै जेसीआई थानकोटका अध्यक्ष एलिना महर्जनले नेपाल र जापानबीचको ब्यापार सम्झौताले मेहनत र अध्ययनकै लागि पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

नगरपालिकामा आयोजित कार्यक्रममा जेसीआई जापानका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै उनीहरुलाई चन्द्रागिरि हिल्सको अध्ययन भ्रमण समेत गराईएको थियो ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



