काठमाडौं । झापामा ३ सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौतामा झावा जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरुलाई स्वास्थ्य, शिक्षालगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ ।
जिल्लामा पहिचान भएका १३ हजार ८ सय ६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये ३ सय ८१ जना बालबालिकामा अजिटमको समस्या देखिएको छ । प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरु गरेको थियो ।



कार्यक्रम इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर, संखुवासभा सञ्चालन भएको थियो ।
करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेले २ सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ ।
जिल्लामा अटिजम भएका करिब सय जनालाई विर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । यी दुवै विद्यालयमा अटिजम भएका बालबालिकाले पालिकाबाट निःशुल्क थेरापीसहितको सेवा पाइरहेका छन् ।
भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाले बजेट व्यवस्थापन गरेर अटिजम केयर सेन्टर सञ्चालनको तयारी गरिरहेका छन् ।



