झापा- संकटा क्लब काठमाण्डौलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको छ । एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।
खेलको म्यान अफ द म्याच एपिएफका एपिएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए । प्रतियोगिताको बिजेताले नगद १३ लाख, उपबिजेताले ७ लाख, टफी, मेडल र प्रमाणपत्र पाउने छन् । आईतबारको खेल नेपाल पुलिस क्लब र लिग बिजेता चर्च ब्वाइज युनाइटेड काठमाण्डौबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुने छ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।



प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिकुलताका बाबजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए ।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले बिश्वका कतिपय राष्ट्र खेलकुदकै कारण आर्थिक रुपमा मजबुत भएको बताए । राष्ट्रिय एकताका लागि खेलकुद मात्र बलियो साधन भएको बस्नेतले बताए । उनले आर्थिक संकटका बाबजुत पनि यति ठुलो प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने दाताहरुलाई हार्दिक धन्यवाद दिए । खेलकुद मनोरञ्जनमात्र नभएर समाजलाई एकताबद्ध बनाउने कसी भएको उनको भनाई छ ।
कार्यक्रममा जग्गादाता डोमालाल राजबंशीका नाती भिम राजबंशीलाई नगद १ लाख रुपैंयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैंयाँ प्रदान गरेको थियो ।



