काठमाडौं । ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ । देशका अन्य सहरमा जस्तै यहाँ पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन् । हरेक सडकका गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ । रातिको समयमा बत्तीले शोभा बढाएको देखिन्छ भने दिउँसो बजारको किनमेल र चहलपहलले रौनक थपेको छ ।
तिहारलाई फूल, रङ्ग र उज्यालोको पर्व हो । नेपालीका घरघरमा दियो, बत्ती बाल्ने पुरानै चलन हो । समय बदलिएसँगै पछिल्लो समय माटाको दियो र मैनबत्तीको स्थान आधुनिक बत्तीले लिएको छ । यसले विद्युतीय बत्तीको माग बढेको छ । माटोका दियो र मैनबत्ती विरलै देख्न पाइन्छ । पहिले पहिले दियो र मैनबत्ती नै बाल्ने चलन थियो, तर, अहिले केही समययता विद्युत र विद्युतीय सामग्रीको पहुँच भएसँगै ती सामान विस्थापित भइसकेका छन् । तिहार सुरु भएसँगै झिलिमिली विद्युतीय बत्तीको बिक्री बढ्दो छ ।



घर, पसल र कार्यालयमा रातभर उज्यालो पार्ने चलन बढेको छ । यसले विद्युतीय बत्तीको व्यापार बढी फस्टाएको छ । हाल ३० देखि २० हजार रुपैयाँसम्मका फरक फरक ‘डिजाइन’ का बत्ती बजारमा उपलब्ध छन् । धरानका हरेक गल्ली र घरका छतमा झिलिमिली बत्ती झुण्डिएको छ ।



