काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ ।



अस्पताल प्रशासनका अनुसार लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले दाबी रकम भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था गम्भीर संकटमा परेको छ । अस्पतालले बीमा बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । मासिक करिब ५ करोड रुपैयाँ खर्च हुने अस्पतालले विगत दुई वर्षदेखि आफ्नै स्रोतबाट दैनिक खर्च धान्दै आएको थियो । तर बीमा बोर्डले दाबीको ५० प्रतिशत मात्र स्वीकृत गरेकाले थप घाटा बढेको छ ।
अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंले भने, “औषधि र स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई ५ महिनादेखि भुक्तानी गर्न सकिएका छैनौं । घाटा सहन नसक्ने अवस्थामा पुगेपछि सेवा बन्द गर्ने निर्णय गर्नुप¥यो।”
स्वास्थ्य बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थाहरूलाई करिब ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ । भुक्तानी अभावका कारण अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिइसकेका छन् ।
यस निर्णयले बीमा गरेका नागरिकहरू उपचार सेवाबाट वञ्चित हुने जोखिम बढाएको छ । सरकारबाट पर्याप्त अनुदान नपाउँदा सेवा प्रदायक संस्थाहरूलाई भुक्तानी दिन नसकिने र यसै कारण स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पर्ने अवस्था सिर्जना भएको छ ।




