भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का रद्द भएका सडक तथा पुल योजनाको निर्माण सुनिश्चित गर्न तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित बैठकमा मन्त्री घिसिङले ठेक्का तोडिएका योजनाको बाँकी कामको प्राविधिक नापजाँच गरी निर्माण सम्पन्न गर्न आवश्यक बजेटको पुनः मूल्यांकन गर्न र त्यसको आधारमा नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका हुन्।



सडक विभागअन्तर्गत ठेक्का लिएर काम अलपत्र पारिएका सडक र पुल निर्माणका जम्मा ४३ वटा ठेक्का तोडिएको मन्त्रालयले जनाएको छ। ती ठेक्काको कुल लागत करिब २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ। मन्त्री घिसिङका अनुसार ती योजनाका लागि आवश्यक स्रोत व्यवस्थापन पहिल्यै भइसकेकाले हाल नयाँ टेन्डर प्रक्रियामा कुनै आर्थिक समस्या नरहेको छ। साथै उनले पुल निर्माणका बहुवर्षीय सम्झौतासम्बन्धी अन्योल चाँडै समाधान गरिने पनि स्पष्ट पारे।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायका लागि कुल १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सो मध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ छुट्याइएको भए पनि हालसम्म ११ अर्ब ६४ लाख रुपैयाँ मात्र खर्च भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ।



