काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहलाई दोषी ठहर गर्ने फैसला गरेको हो । साहलाई दोषी ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) बमोजिमको कसुरमा १ लाख रुपैयाँ जरिवाना र सोही उपदफाको (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ ।
अख्तियारको टोलीले साहलाई गत असार ३२ मा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो । साहले कल्याणपुर–६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग घुस लिएका थिए । सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस स्वरुप लिएको आरोपसहित अख्तियारले गत साउन २३ मा उनीमाथि विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो।



यसै प्रकरणमा बयान फेरेको भन्दै मंसिर २६ मा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीमाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर, जसोधाले भने सफाइ पाएकी छन् । जसोधाले प्रतिकूल हुने बयान दिए पनि मिसिलमा संलग्न विभिन्न प्रमाणबाट साहले घुस लिई भ्रष्टाचार गरेको विषय ठहर भइसकेकोले जसोधाले सफाइ पाउने ठहर्ने अदालतको फैसलामा उल्लेख छ ।



