काठमाडौं । सुनसरीसहित पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा हालै भएका घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै धनुषाका निजी विद्यालयहरूले तीन दिनका लागि पठनपाठन स्थगित गरेका छन् ।

हिसान धनुषा, एन–प्याब्सन, प्याब्सन र एन–प्याब्सन धनुषाले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्लामा आबद्ध सबै विद्यालय तथा क्याम्पसको पठनपाठन स्थगित गरिएको जनाएको हो ।

संयुक्त विज्ञप्तिमा पछिल्ला केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि बढ्नुका साथै विभिन्न सङ्घ–संस्थाले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीको आवतजावत प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको उल्लेख छ । विद्यार्थीको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्दै पठनपाठन अस्थायी रूपमा स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

विद्यालय सञ्चालक संस्थाहरूले सम्बन्धित पक्षबिच तत्काल संवाद गरी विवादको शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न सरकारसँग आग्रह गरेका छन् । विद्यालयबाट घर फर्किने विद्यार्थीको सुरक्षित आवतजावत सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आवश्यक सहजीकरण गरिदिन पनि अनुरोध गरिएको छ ।

संयुक्त विज्ञप्तिअनुसार परिस्थितिमा सुधार आएमा यही साउन १८ गते सोमबारदेखि विद्यालय तथा क्याम्पसहरू नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय