ताप्लेजुङ- लगातारको वर्षापछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा गएको पहिरोले दुई घरमा क्षति पुर्याउँदा १५ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार स्थानीय जीवनाथ बानियाँ र मेहरमान बानियाँको घर पहिरोबाट प्रभावित भएका हुन्।
प्रहरीका अनुसार जीवनाथ बानियाँको घर पहिरोले पूर्ण रूपमा बगाएको छ। घरसँगै भित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्रीमा क्षति पुगेको छ। उक्त क्षतिको अनुमान करिब नौ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।



त्यस्तै, मेहरमान बानियाँको घरमा समेत पहिरोले ठूलो क्षति पुर्याएको छ। घर बस्न नमिल्ने अवस्थामा पुगेको र करिब ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
पहिरोले स्थानीयको मकै, अन्य खाद्यान्न बाली तथा नगदेबाली अलैँचीमा समेत क्षति पुर्याएको छ। घटनाबाट दुई परिवारका नौ जना प्रभावित भएका छन्।
वर्षा निरन्तर भइरहेकाले थप जोखिम बढ्न सक्ने भन्दै स्थानीयले सुरक्षित बसोबास, राहत तथा क्षति व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गर्न माग गरेका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।



