काठमाडौं । अध्यागमन विभागले काठमाडौँ उपत्यकाको तारे होटलमा बस्ने विदेशी नागरिकलाई असोज १ गतेदेखि डिजिटल ट्रयाकिङ गर्ने निर्णय गरेको छ । होटल एसोसिएसन नेपालसँगको समन्वयमा पहिलो चरणमा तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गर्न लागिएको अध्यागमन विभागले जनाएको छ ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवद्र्धनमा सहयोग गर्न दर्ता तथा अनुगमन प्रणालीको विकाश गरिएको विभागले जनाएको छ ।



कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरेर जानुपर्छ । विवरण इन्ट्री गरेपछि आउने हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरुले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने निर्देशक ढकालले जानकारी दिए ।
नेपालमा घुम्न आएर सम्पर्क विहीन हुने विदेशीहरूलाई सो प्रणालीमा आबद्ध भएसँगै खोज्न सहज हुने अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।



