बारा — कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि हराएकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन्। स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ करिब ५:३० बजे आफ्नै घरअगाडि खेलिरहेकै अवस्थामा अचानक बेपत्ता भएकी थिइन्। बालिका लामो समयसम्म नदेखिएपछि परिवारले खोजी गरेका थिए। फेला नपरेपछि उनका हजुरबुबाले प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएलगत्तै प्रहरीले परिवार र स्थानीयवासीसँग समन्वय गरी बालिकाको खोजी सुरु गरेको थियो। रातभर सम्भावित स्थानमा खोजी अभियान चलाइएपछि आइतबार बिहान करिब ५ बजे बालिका कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा फेला परेकी हुन्। सडक किनारमा बालिका रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिला सल्मा नेशाले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले तत्काल बालिकालाई उद्धार गरेको थियो।



जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार बालिका आफ्नै घरबाट करिब एक किलोमिटर उत्तरतर्फ फेला परेकी हुन्। बालिका हराएको सूचना पाएपछि प्रहरी, परिवार तथा स्थानीयवासीले रातभर खोजी गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमान्डमा तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोलीसमेत खोजीमा परिचालन गरिएको थियो। “बालिका पुग्न सक्ने सम्भावित स्थानमा नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिएर रातभर खोजी अभियान चलाएका थियौँ,” डीएसपी घलेले भने।
सकुशल फेला परेकी बालिकालाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको पाइएपछि प्रहरीले बालिकालाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बालिका घरबाट कसरी करिब एक किलोमिटर टाढासम्म पुगिन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण र बालिका घरबाट बाहिरिएको अवस्थाबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।



