काठमाडौं । नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज सूचना जारी गर्दै चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न आग्रह गरेको हो । परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने व्यक्तिमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने भएकाले त्यसो नगर्न पनि भनेको छ । यस्तै, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान तथा धुम्रपान नगर्नसमेत अनुरोध गरेको छ ।
यसैगरी, नगद, बहुमूल्य सामान र गरगहना सकेसम्म लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न, लागुऔषध, नशालु पदार्थ सेवन, ओसारपसार, सञ्चय तथा बेचबिखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गरेको छ ।



प्रहरीले धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न, लामो समय घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउन, तिहार र छठपर्वको लागि गाउँ जान लागेकोलगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि आम सर्वसाधारणलाई आग्रह गरेको छ ।



