प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा नै भएको र शाहले नै जिम्मेवारी लिनु पर्ने बताउनुभएको हो। उहाँले चैत १५ को आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै पूर्वराजाले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो ।



प्रधानमन्त्री ओलीले चैत १५ गते समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिनुभयो । उहाँले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताउनुभयो । विपक्षीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे जवाफ मागेपछि आज सदनमा बोलेका प्रधानमन्त्री ओलीले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड गर्ने व्यवस्था सदनले नै गरेको स्पष्ट गर्नुभयो । उहाँले अदालतमा भएको विषयमा थप बहस गर्न आवश्यक नभएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले थाइल्याण्ड भ्रमणबारे पनि संसदलाई जानकारी गराउनु भएको छ । उहाँले नेपालको कार्यकारी प्रमुखले औपचारिक रुपमा ६५ वर्षपछि थाइल्याण्डको भ्रमण गर्न लागेको बताउनुभयो । थाइल्याण्ड भ्रमणका क्रममा दुई वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लाग्नुभएको हो । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछ ।



