देशभरको मौसमी प्रणाली सक्रिय बन्दै गएसँगै आगामी तीन दिनसम्म देशका अधिकांश भागहरूमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार, सुदूरपश्चिम बाहेक अन्य प्रदेशहरूमा वर्षा सक्रिय भएको छ। भारतको उत्तर प्रदेशमा बनेको मौसमी प्रणालीको प्रभाव नेपालमा समेत देखिएको बताइएको छ। यसकै कारण अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बाली काट्ने समय, किसानलाई विशेष सतर्कता अपनाउन सुझाव
हाल मुलुकभर मुसुरो, गहुँ लगायतका बाली भित्र्याउने मुख्य समय भएकाले, मौसम पूर्वानुमान महाशाखाले कृषकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसमविद् दाहालले भने, “अबको तीन दिन विभिन्न स्थानमा वर्षा जारी रहनेछ। यो समयमा कृषकले मौसमबारे जानकारी लिएर मात्र बाली भित्र्याउनुपर्छ।” बेमौसमी वर्षाले बालीमा क्षति पुर्याउने सम्भावना रहेकोले सचेत रहनु नै सुरक्षाको उपाय हो भन्दै महाशाखाले स्थानिय प्रशासन र कृषि कार्यालयहरूलाई पनि सूचना प्रवाहमा सक्रियता देखाउन आग्रह गरेको छ।



नदीहरूमा बहाव बढ्ने, यात्रा र निर्माणकार्यमा सावधानी अपनाउन आग्रह
लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव अचानक बढ्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, र यात्रा वा निर्माणकार्यका बेला सावधानी अपनाउन मौसम विभागले विशेष अनुरोध गरेको छ।



