काठमाडौं, फागुन १२ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका लागि राखिएको लाइटमा समस्या आएपछि उडान तथा अवतरण प्रभावित भएको छ। विमानस्थल प्रशासनका अनुसार बिहान ८ बजेपछि धावनमार्गको लाइट बिग्रिएपछि करिब ४५ मिनेटसम्म उडान तथा अवतरण रोकिएको थियो। तत्काल प्राविधिक टोली परिचालन गरी समस्या समाधान गरिएको छ भने अहिले उडानहरू सुचारु भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बिहान उडानहरू रोकिएका कारण हाल निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म ढिलो भइरहेका छन्। विमानस्थलको प्राविधिक टोलीले लाइट मर्मत गरिसकेको र अब सबै उडानहरू क्रमशः नियमित हुँदै जाने जानकारी दिएको छ। तर, बिहानको अवरोधका कारण कतिपय यात्रुले असुविधा भोग्नुपरेको छ।

यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न प्राविधिक समस्या तथा खराब मौसमका कारण उडान अवरुद्ध हुने घटनाहरू भएका छन्। विमानस्थल प्रशासनले आगामी दिनमा यस्ता समस्या नदोहोरिउन् भन्ने उद्देश्यले नियमित निरीक्षण तथा मर्मत सम्भारलाई प्राथमिकता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय