काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताउनुभएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पुनले खोजबिन समितिले औल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको जग्गा हडपेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेकोले समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने र मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने जानकारी दिनुभयो ।



त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उहाँले अझै गहन छानबिन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी भइरहेको बताउनु भयो ।
यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उहाँले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताउनुभयो । मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णाङ्कको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।



