काठमाडौं — प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टले चन्द्रागिरि नगरपालिका–७, वाणस्थलीस्थित त्रिवेणी मार्गमा गएको पहिरोको बुधबार स्थलगत अनुगमन गरेका छन्। पहिरोका कारण सडक, चौतारो तथा मन्दिर क्षेत्र जोखिममा परेपछि स्थानीयको गुनासो बढ्दै गएसँगै सांसद बिष्ट प्रभावित क्षेत्र पुगेका हुन्। अनुगमनका क्रममा स्थानीय बासिन्दाले पहिरोका कारण दैनिक आवतजावतमा समस्या भएको, सडक थप भासिने जोखिम बढेको तथा बस्ती र धार्मिक स्थलसमेत असुरक्षित बन्दै गएको गुनासो सांसद बिष्टसमक्ष राखेका थिए। उनीहरूले समयमै आवश्यक संरक्षणका काम नभए थप क्षति हुन सक्ने भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न माग गरेका थिए।

स्थानीयको गुनासो सुनेपछि सांसद बिष्टले तत्काल चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीलाई टेलिफोन गरी पहिरो प्रभावित क्षेत्रमा स्थानीय तहले हालसम्म गरेका काम र आगामी योजनाबारे जानकारी लिएका थिए। उनले जोखिम न्यूनीकरण तथा पहिरो नियन्त्रणका लागि आवश्यक पहल गर्न नगरपालिकासँग समन्वय गर्ने बताएका छन्।

सांसद बिष्टले संघीय सरकार र बागमती प्रदेश सरकारसँग आवश्यक बजेट तथा प्राविधिक सहयोग जुटाउन आफूले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले जोखिमयुक्त क्षेत्रको तत्काल प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानको योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीयवासीले अत्यधिक भार बोकेका सवारीसाधनको नियमित आवागमन र सडक निर्माणका क्रममा अपनाइएको लापरबाहीका कारण सडक कमजोर बन्दै गएको तथा त्यसकै परिणामस्वरूप पहिरो गएको आरोप लगाएका छन्। उनीहरूले सम्बन्धित निकायले समयमा सडकको गुणस्तर र निकास व्यवस्थापनमा ध्यान नदिँदा समस्या थप जटिल बनेको बताएका छन्।

गत शनिबार परेको अविरल वर्षापछि वाणस्थलीस्थित त्रिवेणी मार्गमा पहिरो गएको थियो। पहिरोले सडकको केही भाग बगाउनुका साथै आसपासको क्षेत्रलाई समेत जोखिममा पारेको छ। अहिले पनि निरन्तर वर्षा भइरहेकाले थप पहिरो जाने सम्भावना रहेको भन्दै स्थानीय प्रशासन र नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय