त्रिशूली नदीमा आएको भीषण बाढीले नेपाल विद्युत् प्राधिकरण तथा यस अन्तर्गतका विभिन्न जलविद्युत् आयोजनाको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बगाएको छ। साथै, आयोजनाको पुल चर्किएकोले आवतजावत पूर्णरूपमा बन्द भएको छ।

त्यस्तै, ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनाको मुख्य भवनमा बाढी पस्दा विद्युत् उत्पादन रोकिएको छ। यद्यपि चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी पस्दा पनि ठूलो क्षति नभएको जनाइएको छ।

बाढीले त्रिशूली नदी किनारमा रहेको प्रसारण लाइनको एक बाइपास टावर बगाएको छ। रसुवागढी आयोजनाको टेलरेसमा भने भौतिक संरचनामा क्षति नभए पनि गेग्रान थुप्रिएर सञ्चालनमा अवरोध भएको छ। विद्युत् उत्पादन र प्रसारणमा व्यापक असर परेपछि प्राधिकरणले तत्काल मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ। हाल उद्धार तथा मूल्यांकन कार्य जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय