काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा राँगाको टाउँको लुकाउने जात्रा केही बेरमा सुरु हुँदैछ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले जात्राको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भएको छ । उहाँले थानकोटबासीले विहानमा दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउँने र साँझ राँगाको टाउँको लुकाउने जात्रा मनाउँदै आएको बताउनु भएको छ । टाउँको लुकाउने जात्राको आफ्नै महत्व र विशेषता रहेको र वर्तमान पुस्तालेसमेत यो जात्रालाई जोगाई राख्न भरमग्दुर प्रयास गरिएको खड्गी बताउनु हुन्छ । उहाँले विभिन्न जात्रापर्वहरु प्राचीनकालदेखि अहिलेसम्म जीवन्तरुपमा मनाइँदै आएको र ति जात्रा पर्वमध्ये यो जात्रा देशको कहि कतै नमनाइने र यो जात्रा थानकोटमा मात्र मनाइने गरिएकोले यो जात्राको आफ्नै विशेषता र महत्व रहेको उहाँ बताउनु हुन्छ ।

यो पर्व नरभक्षी राक्षसलाई मारेपछि त्यसको टाउको काटी गाउँगाउँ र टोलटोलमा बोकर त्यस दुष्टको खिल्ली उडाएर हर्सोल्लासकासाथ विजयोत्सवको रुपमा मनाउने गरिन्छ । किम्बदन्तीमा त्यतिबेला नरभक्षी राक्षस आएर गाउँलेलाई मार्दै खान थालेपछि कोही गाउँ छोडि भाग्थे भने गाउँ छोडि जान नसक्नेहरु राक्षसको आहारा हुन्थे । दिनचर्या वित्दै जान थालेपछि भगवान आदिनारायणले भगवान शिवको आराधना गरी भ्यागुताको रुपधारण गरेर राक्षसलाई मारेको किबदन्तीमा उल्लेख छ ।

आफ्नो पति मारेपछि राक्षसनी रूदै, चिच्याउँदै त्यहाँ आएको र उसलाई पनि गाउँलेहरूले समातेर पाता फर्काइ बाँधि सिस्नोपानीले पिट्दै मारिएका राक्षसको टाउको बोकी नगर परिक्रममा गराइएको थियो । गाउँको बीचमा रहेको पोखरी सिलाफलमा राक्षसको टाउँको र राक्षसनीलाई फालिदिए । नगरवासीले नरभक्षी राक्षस र राक्षसनीको अन्त्य भएको खुशीयालीमा उत्सव मनाउ थाले । यही परम्पराले अहिले थानकोटमा सांस्कृतिक जात्राको रुप लिएको छ ।

यो पर्वमा अपमानपूर्वक राक्षसको टाउकोको प्रतिक राँगाको टाउको पोखरीमा फाल्ने र लुकाउने गरिन्छ । भगवान आदिनारायण रूपी भ्यागुतालाई भने सम्मानजनक चौरासीव्यञ्जन खानेकुरा तयार गरी श्रावण पूर्णिमाका दिन अर्थात् यो जात्राको अघिल्लो दिन पूजाआजाकासाथ व्याँजा नकेगु (भ्यागुतालाई भात खुवाउने) भनि भात खुवाइने परम्परा रहेको छ । आजको दिनमा किसिपिँढी, मच्छेगाउँ र कीर्तिपुरमा समेत राँगाको खुट्टा बोकेर जात्रा गरी गाउँ परिक्रमा गरी गाउँ बीचको पोखरीमा फाल्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय