काठमाडौं । थानकोट–चित्लाङ सडक खण्ड आगामी आइतबारबाट बन्द हुने भएको छ । सडक भिडिजन कार्यालय काठमाडौंले सार्वजनिक सुचना जारी गर्दै सडक स्तरोन्नतीको लागि पुस सात गतेदेखि माघ ६ गतेसम्म उक्त सडक खण्ड पूर्णरुपमा बन्द गर्ने जानकारी दिएको छ ।




उक्त सडक खण्ड अन्तरगत पर्ने चन्द्रागिरिको पानीघाट देखि माथिल्लो भन्ज्याङसम्म एक महिना सडक पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक मार्गको प्रयोग गर्न कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएको छ । साथै कार्यालयले यसबाट यात्रुमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
यसैबीच स्तरोन्नती भन्दै थानकोट–चित्लाङ सडकखण्ड बन्द गर्न लागेको प्रति चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आपत्ति जनाएको छ । विश्वविद्यालयले डिभिजन कार्यालयलाई पत्र लेख्दै उक्त सडक पूर्णरुपमा बन्द गरिएमा विद्यालय संचालन हुन नसक्ने बताएको छ ।
सडक बन्द गर्ने सम्बन्धी निर्णय सरोकारवालाहरुको बैठकबाट मात्रै निर्णय गर्न पनि विश्वविद्यालयले माग गरेको छ ।





