काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डमा धमाधम कालोपत्रेको काम भइरहेको छ । बैशाख २५ गतेदेखि २७ गतेसम्म सडक पूर्णरुपमा बन्द गरेर काम अघि बढाइएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंका साइट इञ्जिनियर रामकुमार श्रेष्ठले तीन दिनसम्म पूर्णरुपमा सडक बन्द गरेर पिच गरिए पनि पिचको काम बाँकी रहने जनाउनु भयो । उहाँले बीएसपी जेश्री महालक्ष्मी ज्वाइन्ट भेन्चर कम्पनीले २०८१ बैशाख ३१ गते सम्झौता गरी २०८२ बैशाख ३० गते काम सम्पन्न गर्ने गरी जिम्मेवारी पाएकोमा समयमा नै उक्त काम सम्पन्न हुने बताउनु भयो । उहाँले थानकोटको पानीघाट क्षेत्रदेखि सेतो पहराको तल्लोमोडसम्मको ११ सय मिटरसम्म बाटो सम्याउने देखि कालोसम्म ३ करोड ९३ लाख ५२ हजार ८ सय ४९ रुपैयाँ भ्याटसहितको काम हुने बताउनु भयो । उहाँले तीन दिनमा कालोपत्रे सम्पन्न गर्ने भने तापनि काम नसकिने र धेरै समय राजमार्ग अवरुद्ध पारेर काम पनि गर्न नमिल्ने हुँदा एकतर्फी सडक संचालन गरेर भएपनि काम गर्ने बताउनु भयो ।




इञ्जिनियर श्रेष्ठले ८ सय मिटरको दोस्रो टेण्डर पनि सोही कम्पनीले पाएकोले सँगै नै उक्त पीचको काम हुने जानकारी दिनुभयो । उहाँले थप ३ सय मिटर पीचको टेण्डर आह्वान भईसकेकोले छिट्टै नै थानकोट चित्लाङ सडक पीचले जोडिने दाबी गर्नुभयो । श्रेष्ठले सिधा बाटोमा ७ मिटर र ट्रनिङमा ८ देखि ९ मिटरसम्म पीच भएको उल्लेख गर्नुभयो ।
साइट इञ्जिनियर रामकुमार श्रेष्ठले थानकोट चित्लाङ सडक खण्डमा पीच भएपछि गाडीको स्पिड बढ्ने र दुर्घटनाको सम्भावना उच्च रहेकोले न्यूनिकरणको लागि अति जोखिमयुक्त ठाउँमा १ किलोमिटर फलामको वेरियर र ५ सय मिटर कंक्रिटको वेरियर लगाईने पनि जानकारी दिनुभयो ।
कालोपत्रे सुरु गरेपछि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले स्थलगत निरिक्षण गर्नुभएको थियो ।



