काठमाडौं । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले चन्द्रागिरि नगरपालिकामा रहेको त्रिभुवन पार्क (शहीद पार्क) मा अवैध रुपमा निर्माण भइरहेको संरचना तत्काल रोक्न सार्वजनिक सुचना जारी गरेको छ ।
मन्त्रालयले २०८२ असोज २४ गते शनिबार नयाँ पत्रिकामा सूचना जारी गर्दै पार्कको व्यवस्थापन गर्ने जिम्मेवारी संस्कृति तथा पर्यटन मन्त्रालयको भएकोले मन्त्रायलको अनुमति विना अनाधिकृत रुपमा संरचना बनाएको, पार्कको जग्गा हिनामिना तथा अतिक्रमण भइरहेकोले त्यस्ता गतिविधि नगर्न चेतावनी समेत दिएको छ । मन्त्रालयले अनुमति बेगर कसैले त्यस्ता गतिविधि गरेमा वा हुन गएमा कानून अनुसार त्यस्ता व्यक्तिबाटैं क्षतिपूर्ति समेत असुलउपर गरिने जनाएको छ ।



लामो समयदेखि त्रिभुवन पार्क (शहीद पार्क) राजनीतिक खिचातानीकै कारण खण्डहरमा परिणत हुन पुगेको अवस्थामा थियो । स्थानीय निकायले आफुमातहत हुनुपर्ने भन्दै अडान राख्दै आएको छ भने प्रदेश सरकार आफु मातहत रहेकोले पार्कमा त्यस्तो कुनै पनि गतिविधि नगर्न नगराउन भन्दै आएको छ ।
प्रदेश सरकारको अनुमति बेगर पार्कमा रहेको रुख कटान गर्ने, पाटी प्यालेस, रेष्टुरेन्ट, वेगर थ्रिडी हललगायतका संरचना विना अनुमति बनाएर संचालन गरेको भन्दै विवादित बन्दै आएको छ । स्थानीय सरकार, प्रदेश सरकार, प्रतिष्ठान र स्थानीयबीच पटक पटक पार्कको विषयलाई लिएर बारम्बार विवाद हुँदै आएको छ । स्थानीय निकाय आफ्नो क्षेत्र अधिकार बाहिर गएर व्यक्ति व्यक्तिलाई पार्कको जग्गामा संरचना बनाउन दिएर व्यक्ति पोस्न खोजेको, स्थानीय निकायले पार्क आफ्नो क्षेत्र भित्र रहेकोले आफु मातहत हुनुपर्ने र संचालन गर्न पाउनु पर्ने भन्दै सोही अनुसार संरचना बनाउन सहमति दिने, शहीद स्मारक प्रकृति प्रतिष्ठानले सम्पत्ति आफ्नो भएकोले कसैले हस्तक्षप गर्न नपाउने र प्रदेश सरकारले आफु पार्क मातहत रहेकोले आफुले भने बमोजिम संचालन हुनुपर्ने भन्दै चौपक्षीय द्वन्द्वका कारण पार्क खण्डहरमा परिणत हुन खोजेको थियो ।
पछिल्लो समय पार्क बनाउन स्थानीयले दबाब बढाएपछि आर्थिक वर्ष २०८१–०८२ मा चन्द्रागिरि नगरपालिका भित्र परेका तीन वटा समपुरक योजना मध्ये थानकोट शहीद पार्क (त्रिभुवन पार्क) को पुर्नर्निमाणको लागि ३ करोड रुपैयाँ छुट्टियो । चन्द्रागिरि नगरपालिकाले थप ६० लाख रुपैयाँ बजेट पुर्नर्निर्माणका लागि छुट्यायो । ३ करोड ६० लाख रुपैयाँको लागतमा पार्कलाई पुनर्निर्माण गरियो । चरा घर, विभिन्न जनावर, फुलबारी बगैचा, भत्किन लागेका स्टल, ओपन जिम सेन्टरलगायतका सामग्री थप गरेर पार्कलाई हेर्न लायकको बनाइएको छ ।
यसअघि पार्कलाई पहिलाकै अवस्थामा फर्काउनको लागि केन्द्र देखि प्रदेशसम्मका मन्त्रीहरु पार्कको निरिक्षण गरेका थिए । पार्कमा प्रदेश मातहतका मन्त्रीहरुले अवलोकन गर्दै पार्कलाई पहिलाकै अवस्थामा फर्काउछौं भन्ने गर्दथे । मन्त्रीहरुले अवलोकन गरेपछि अब पार्क बनाउँछौं भन्दा स्थानीयमा आशाको दियो पलाउँथ्यो । उहाँहरुले स्थानीयमा आशाको दियो त बाल्दथे तर, नेपालको राजनीति सरकार केही दिनमै ढल्थ्यो । यस्तै यस्तै गर्दै वर्षौ वित्यो, पार्क सधै राजनीतिको कोपभाजनमा पर्दै गयो । कुनै बेला स्वदेश मात्र नभई विदेशमा पनि चर्चा हुने थानकोटको यो त्रिभुवन पार्कले परिचित सहीद पार्कको अस्थित्व लगभग सकिएको थियो । शौन्दर्यता र अस्थित्व सक्किएपछि यो पार्कलाई प्रायःले विर्सिसकेका थिए । स्थानीय निकाय र प्रदेश सरकारको पहलमा अहिले पुनः पार्कलाई अस्थित्वमा फर्काउने प्रयास भएको छ ।
अहिले पछिल्लो समय पुनः स्थानीय निकाय र प्रतिष्ठानले आफु खुशी पार्कको जग्गा हिनामिना तथा अतिक्रण गरेको भन्ने जनगुनासो आएकोले भाडामा लगाउने, संरचना बनाउन दिनेलगायतको त्यस्तो कुनै पनि गतिविधि नगर्न भन्दै चेतावनी दिएको छ ।




