काठमाडौं । चन्द्रागिरि नगरपालिकाको गोदामचोकमा अवस्थित थानकोट प्राथमिक अस्पताल पछिल्लो समय स्थानीय नागरिकका लागि भरोसायोग्य स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । केही वर्षअघिसम्म सामान्य स्वास्थ्य सेवा लिन पनि टाढा धाउनुपर्ने बाध्यता भोगिरहेका चन्द्रागिरिवासीहरू आज आफ्नै नगरभित्र सहज रूपमा उपचार पाउने अवस्थाले उत्साहित देखिन्छन् । यही कारणले पनि अस्पतालमा दिनहुँ स्वास्थ्य परीक्षण गराउन आउने सेवाग्राहीहरूको संख्या निरन्तर बढिरहेको छ ।

चन्द्रागिरि क्षेत्र मात्र होइन, छिमेकी पालिका तथा उपत्यकाको बाहिरी जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि यहाँ आउने क्रम बढ्दो छ । राजमार्ग नजिकैको सहज पहुँच, समयमै उपचार सेवा र स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध सेवा सुविधाका कारण अस्पतालप्रति सर्वसाधारणको विश्वास विस्तार हुँदै गएको वडा अध्यक्ष कृष्णप्रसाद खड्गी बताउँछन् । बिहानदेखि बेलुकासम्म ओपिडी कक्षमा बिरामीको चहलपहल देखिनु यहाँको दैनिक दृश्यजस्तै बनिसकेको छ ।

हाल अस्पतालले ओपिडी सेवा, प्रयोगशाला परीक्षण, एक्स–रे, ईसिजी, ईको, प्रसूति सेवा लगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकहरूले पनि यही अस्पतालबाट बिमित सेवा पाउन थालेपछि आर्थिक रूपमा कमजोर वर्गलाई विशेष राहत पुगेको छ । वडा अध्यक्ष खड्गीले दैनिक सयौँ सेवाग्राही स्वास्थ्य परीक्षण र उपचारका लागि प्राथमिक अस्पताल आउने गरेकाले अस्पतालप्रतिको भरोसा बढ्दै गएको संकेत भएको बताउँछन् ।

स्थानीयवासीहरूले अस्पतालमा राम्रो सेवा पाउन थालेपछि सामान्य स्वास्थ्य समस्याका लागि काठमाडौंका ठूला अस्पताल धाउनुपर्ने बाध्यता धेरै हदसम्म कम भएको बताउँछन् । नगरपालिकाको पहल, स्वास्थ्यकर्मीहरूको समर्पण र सेवा विस्तारको प्रयासले अस्पताललाई क्रमशः सुदृढ बनाउँदै लगेको छ ।

स्वास्थ्य सेवा कुनै पनि समाजको आधारभूत आवश्यकता हो । स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन देखिनु स्वाभाविक हो । यही सन्दर्भमा थानकोट प्राथमिक अस्पताल चन्द्रागिरि क्षेत्रका लागि आशा र भरोसाको केन्द्र बन्दै गएको देखिन्छ । सेवा विस्तार र पूर्वाधार सुदृढीकरणको प्रयास निरन्तर अघि बढ्दै गएमा भविष्यमा यो अस्पताल उपत्यकाकै महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय