काठमाडौँ — राजधानीमा जारी जेनजी आन्दोलन मङ्गलबार दिउँसो थप उग्र बन्दा थापाथलीस्थित कान्तिपुर दैनिक को कार्यालयमा आगजनी भएको छ। प्रदर्शनकारीहरूको ठूलो समूहले कार्यालयको मुख्य गेट तोड्दै भित्र प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले तोडफोड गर्दै विभिन्न कोठामा आगो लगाएका हुन्। आगलागीका कारण कार्यालयको भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। कम्प्युटर, कागजात, मुद्रण सामग्रीलगायतका उपकरण जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मीहरू केही बेरपछि घटनास्थल पुगेका थिए। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन सकिए पनि भवनको ठूलो भागमा क्षति भएको बताइएको छ। मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन।जेनजी आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्ध, व्याप्त भ्रष्टाचार र नेताहरूको विशेषाधिकारप्रति आक्रोश प्रकट गर्दै देशभर फैलिएको छ। सोमबार भएको प्रहरी दमनमा १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि मङ्गलबार आन्दोलन अझै आक्रामक बनेको हो। प्रदर्शनकारीहरूले यसअघि पनि सिंहदरबार, संसद् भवन, पार्टी कार्यालय तथा शीर्ष नेताहरूको निजी निवासमा तोडफोड र आगजनी गरेका थिए। त्यसक्रममा राजधानीका विभिन्न क्षेत्र अशान्त बनेका छन्।






