काठमाडौं । दक्षिणकाली नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ५२८१ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल भिरमा खसेपछि उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दक्षिणकाली नगरपालिका–९ रानीमडाँडा, केरावारी–सितचोक नजिकको घुम्ती सडकखण्डमा उक्त कार अचानक नियन्त्रण बाहिर गई भिरालो र साँघुरो सडकबाट एकाएक कार तल खस्दा ३४ वर्षीय सुरज खड्का गम्भीर रूपमा घाइते भएका थिए । खड्कालाई उद्धार गरी अस्पताल लैजाने प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रारम्भिक अनुसन्धानका क्रममा तीव्र गति, सडकको अवस्था वा चालकको असावधानीले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीय बासिन्दाले उक्त क्षेत्रको सडक अत्यन्त जोखिमपूर्ण रहेको बताउँछन् । तीव्र मोड, भिरालो भू–भाग र सुरक्षा व्यवस्थाको कमीले यसअघि पनि यस क्षेत्रमा साना–ठूला दुर्घटनाहरू हुने गरेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो ।



