एजेन्सी । दक्षिण कोरियाको चुंगबुक प्रान्तको उमसङ काउन्टी अन्तर्गत मेङदोङ क्षेत्रमा रहेको एक दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने कारखानामा आगलागी भएको छ । स्थानीय समयअनुसार दिउँसो करिब २ः५५ बजे सुरु भएको आगो नजिकै रहेको अर्को कारखानासम्म फैलिएको दमकल विभागले जनाएको छ । घटनापछि दमकल विभागले दिउँसो ३ः२० बजे पहिलो चरणको आपतकालीन प्रतिक्रिया र ३ः२५ बजे दोस्रो चरणको आपतकालीन प्रतिक्रिया जारी गरेको थियो ।

आगो नियन्त्रणका लागि १०५ जना दमकलकर्मी, ५६ वटा दमकल उपकरण र ४ वटा हेलिकप्टर परिचालन गरिएको थियो। हावाको प्रभावका कारण आगो करिब ५०० मिटर टाढाको डाँडातर्फ फैलिएको भए पनि दिउँसो ४ः१० बजे आगो नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको समयमा कारखानामा ८३ जना कामदार कार्यरत थिए । तीमध्ये ८१ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन् । तर २० वर्षका एक नेपाली नागरिक र ५० वर्षका एक उज्बेकिस्तान नागरिक गरी दुई जना कामदार हालसम्म सम्पर्कविहीन रहेको बताइएको छ ।

दमकल तथा सम्बन्धित निकायले सम्पर्कविहीन कामदारको खोजी कार्य जारी राखेका छन्।आगलागीको कारण र क्षतिको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको सम्बन्धित अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय