झापा, भदौ ३ – झापाको दमकमा भएको एक सडक दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
आज बिहान करिब ८ बजे पूर्वपश्चिम लोकमार्गअन्तर्गत दमक पशुहाटस्थित सडकमा यो दुर्घटना भएको हो। दमकबाट पाडाजुँगीतर्फ गइरहेको बन्दाकोपी बोकेको ट्रक (प्र१–०२–००२ ख ०९१२) ले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल (प्र१–०१–०१२ प ९३१२) लाई ठक्कर दिएको थियो।



दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कमल गाउँपालिका–५ बस्ने ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चलाइरहेका उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको शव दमक अस्पतालको शवगृहमा राखेको छ। ट्रक चालक तेह्रथुम लालीगुँरास नगरपालिका–४ बस्ने २५ वर्षीय आङदावा शेर्पासहित ट्रक र मोटरसाइकल दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



