दशैं भन्ने वित्तिकै नयाँ नोटको प्रसंग आइहाल्छ । दशैंमा टीका लगाएर दक्षिणा दिँदा नयाँ नोट दिने चलन छ । त्यसका लागि विगतमा बैंकहरूमा नोट साट्नेहरूको घुइँचो लाग्ने गर्थ्यो । तर अब यो पटक भने त्यसरी बैंकले तोकेको समयमा तोकिएकै बैंकमा भिडभाड गरेर नयाँ नोट साट्नुपर्ने बाध्यता छैन । त्यसो भए, कसरी साट्ने त नयाँ नोट ?

दशैं भन्नासाथ तपाईको मनमा के खेल्छ ? नयाँ कपडा, पिङ, आफ्न्तसँगको भेटघाट, खानपिन यस्तै यस्तै । तर योसँगै धेरैलाई दशैंमा टीका लगाएर दक्षिणाका रुपमा दिने सुकिला नयाँ नोट सम्झनामा नआउने कुरै भएन । अहिले पनि धेरैलाई घरमा नयाँ नोट नपुगेसम्म दशैं आएको महसुस नै हुँदैन । दशैं र नयाँ नोट वर्षौदेखि चल्दै आएको एउटा भावनात्मक सत्य हो । त्यसैले त विगतमा राष्ट्र बैंकले पनि नयाँ नोट साट्न मिति नै तोक्ने गरेको थियो ।

दशैंअघि नोट सटहीको सुविधा खुला गरेपछि बिहानैदेखि राष्ट्र बैंकका विभिन्न कार्यालय र बैंकहरुमा नोट साट्नेको भिड्नै लाग्ने गथ्र्यो । तर यस पटकदेखि राष्ट्र बैंकले नयाँ नोट साट्न मिति तोकिने चलन हटाएको छ । तर तपाईलाई चासो हुन सक्छ, त्यसो भए अब नयाँ नोट कहिले र कहाँबाट पैसा साट्ने ? इच्छुक सर्वसाधारणका लागि राष्ट्र बैंकले काठमाडौंको थापाथलीस्थित बैंकको कार्यालयसहित क्षेत्रीय कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाका विभिन्न शाखाबाट सजिलै नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको छ । त्यो पनि निश्चित समय नतोकी, जुनसुकै बेला । राष्ट्र बैंकका अनुसार अहिले पनि नयाँ नोट सटही सुविधा उपलब्ध भइरहको छ । राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिन नयाँ नोट बैंकहरुलाई दिइसकिएको जनाएको छ।

उसो त अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरेको थियो । तर यो वर्ष नयाँ नोट नै साट्न पाइने छ । त्यो पनि सार्वजनिक बिदाको दिनबाहेक अरु सबै दिन सर्वसाधारणले नोट साट्न सक्नेछन् । विगतमा राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक–एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नोट सटही सुविधा दिदै आएको थियो । तर यो वर्ष त्यो अनुपात भन्दा बढी पनि सटही सुविधा पाउने छन् । यस वर्ष नयाँ नोटको स्टकको समस्या नभएकाले २ सेटसम्म पनि सटही सुविधा दिने गरेको राष्ट्र बैंकले जनाएको छ ।

एटीएमबाटै पाइन्छ १०० दरका नोट । र, अर्को पनि सुविधा छ तपाईलाई यदि १०० दरको मात्रै नोट चाहिएको छ भने बैंकको शाखा कार्यालय पनि धाइरहनु पर्दैन । बैंक तथा वित्तीय संस्था एटीएम मेसिनबाट पनि १ सय दरका नोट सहजै झिक्ने सक्नु हुनेछ । साना दरको नोट साट्न बैंकमा भिडभाड नहोस् भन्ने उद्धेश्यले नै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

अब थोरै चर्चा गरौं साच्चै दशैमा नयाँ नोट साट्ने प्रचलन कहिले र कसरी सुरु भयाे ?

नेपाल राष्ट्र बैंकको अभिलेखअनुसार विक्रम संवत् २००२ मा पहिलोपटक कागजी नोट छापिएको हो । त्यसअघि नेपालमा सिक्का मात्रै प्रचलनमा थियो । जानकारहरूका अनुसार त्यही बेलादेखि दशैंमा नयाँ नोट चलाउने चलन बसेको हो। दशैंमा सरकारी कर्मचारीलाई पेस्की, भत्ता, तलब वापत नयाँ नोट दिने र त्यही रकम दक्षिणाको रुपमा दिने अभ्यास त्यहीबेला देखिकै हो । तर यो चलन बिस्तारै स्थापित हुन हुँदै गयो । नयाँ नोट लिनेको संख्या बढ्न थालेपछि विसं २०५० को दशकपछि राष्ट्र बैंकले पनि सूचना नै निकालेर निश्चित मात्रामा नोट सटही सुविधा दिन थालेको थियो । तर पछिल्लो समय बढ्दो डिजिटल कारोबारले नगद कारोबार घटेको छ । योसँगै राष्ट्र बैंक र बैंकहरुले चाडपर्वका बेला पनि डिजिटल दक्षिणालाई पनि प्रोत्साहन गरिरहेका छन् । राष्ट्र बैंकले नोट छपाई र व्यवस्थापनमा हरेक वर्ष ३ अर्ब हाराहारी खर्च गर्ने गरेको छ । नोटको माग बढेसँगै यो खर्च पनि बढ्ने हुँदा डिजिटल कारोबारसँगै नोट सदुपयोगमा पनि सर्वसाधारण थप जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय