दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ जिल्लाका तीनै निर्वाचन क्षेत्रमा गरी ५० जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार कुल उम्मेदवारमध्ये १५ जना स्वतन्त्र रहेका छन् ।निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ मा ११ जना, क्षेत्र नम्बर २ मा २० जना र क्षेत्र नम्बर ३ मा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर २



दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी नेपाली कांग्रेसका किरण किशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री बिपिन आचार्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का निर्मल आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रलाई दाङको सबैभन्दा चासोका साथ हेरिएको निर्वाचन क्षेत्रका रूपमा लिइएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३
क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्वमन्त्री दीपक गिरी, नेकपा एमालेका घनश्याम पाण्डे, नेकपाका धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यहाँ प्रतिस्पर्धा कडा हुने देखिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेकपाका तर्फबाट पूर्वमन्त्री मेटमणि चौधरी, नेकपा एमालेका रेवतीरमण शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक उम्मेदवार बनेका छन् ।यस निर्वाचन क्षेत्रको विशेष आकर्षणका रूपमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । केसीको स्वतन्त्र उम्मेदवारीले क्षेत्र नम्बर १ मा चुनावी समीकरण थप रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब उम्मेदवारी जाँच, दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया निर्वाचन आयोगको कार्यतालिकाअनुसार अघि बढ्नेछ । दाङमा यसपटक प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगै स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिका कारण प्रतिनिधिसभा निर्वाचनलाई चासो र प्रतिस्पर्धाका साथ हेरिएको छ ।



