काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ । बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अभियन्ता प्रसाईंका कैयौँ माग जनताका पक्षमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न अनुरोध गर्नुभयो । राजनीतिक अस्थिरतासहित अन्योल र अशान्तिको अवस्थाबाट देशलाई निकास दिन प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन हुन आवश्यक रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई सफल बनाउने राष्ट्रिय अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गर्नुभयो । मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय