अभिनेता दीपकराज गिरीले २४ भदौको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा आफू संलग्न नरहेको स्पष्ट पारेका छन्। आन्दोलनका क्रममा तोडफोड भएको स्थानमा उनी उभिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आफ्नो धारणा सार्वजनिक गर्दै फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्। गिरीले लेखेका छन्, “नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरेझैँ यसलाई पनि समर्थन गरेकै हो। यदि त्यो अपराध हो भने अपराध त भयो नै।”

उनका अनुसार आफू राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीको बोलाहटमा सर्वपक्षीय भेलामा सहभागी हुन बानेश्वर जाँदै गर्दा दुर्घटनाग्रस्त घर अगाडि पुगेका थिए। उनले भने, “त्यो घर बाटोमै परेको रहेछ, केही युवाले फोटो खिचे, म पनि रमितेझैँ उभिएँ, त्यसपछि हिँडेँ। तर त्यस फोटोको आधारमा कथा रचियो।” गिरीले आफू तोडफोड वा आगजनीको पक्षमा नरहेको स्पष्ट गर्दै भनेका छन्, “व्यापक तोडफोड र आगजनी सुरु भएपछि हामीले ‘तोडफोड नगरौँ’ भन्ने भिडियो पनि बनायौँ र सामाजिक सञ्जालमा राष्ट्रको सम्पत्ति जोगाउन अपिल गरिरहेँ।”

उनले थपे, “आन्दोलन र आगजनी फरक कुरा हुन्। दोस्रो भागमा स्वार्थ समूह र राजनीतिक व्यक्तिहरू मिसिएका थिए।” गिरीले अन्त्यमा भनेका छन् — “देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो कुनै सहभागिता छैन। यदि प्रमाणित हुन्छ भने म हदैसम्मको कारबाही भोग्न तयार छु।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय