काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा २४ क्यारेट सुनको सडक निर्माण गरी पर्यटकका लागि खुला गर्ने तयारी गरिएको छ। दुबई गोल्ड डिस्ट्रिक्टले यस वर्षको अन्त्यअघि पर्यटकले अवलोकन गर्न सक्ने गरी सुनको सडक सञ्चालनमा ल्याउने घोषणा गरेको हो। गोल्ड डिस्ट्रिक्टका वरिष्ठ निर्देशक राशिद अल हरमौदीका अनुसार आगामी दुई महिनाभित्र यो सडक पर्यटकका लागि खुला गर्ने लक्ष्य राखिएको छ। उनले यसलाई आफ्नो प्रकारको पहिलो तथा विश्वकै सबैभन्दा लामो सुनको सडक हुने दाबी गरेका छन्। यद्यपि, सडकको वास्तविक लम्बाइ र निर्माणमा सुन प्रयोग गर्ने प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन।
सुनको सडक निर्माण गर्ने योजना दुबईलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुका साथै विश्वव्यापी सुन व्यापारको केन्द्रका रूपमा यसको पहिचान थप बलियो बनाउने प्रयासको हिस्सा हो। यसबाट पर्यटकले सुनसँग जोडिएको फरक र नयाँ अनुभव लिन पाउने अपेक्षा गरिएको छ।



१६.५१४ किलोका सुनका झुम्काले बनाए दुई विश्व कीर्तिमान
दुबईमा सुनको सडक खोल्ने घोषणा १६।५१४ किलोग्राम तौलका सुनका झुम्काले दुईवटा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको अवसरमा गरिएको हो। जोयअलुक्कास ज्वेलर्सले परम्परागत भारतीय शैलीमा हातैले तयार पारेका यी झुम्काले सबैभन्दा भारी सुनका झुम्का र विश्वकै सबैभन्दा ठूलो जोडी झुम्काको कीर्तिमान बनाएका हुन्। ‘सहस्र माइल’ अर्थात् ‘एक हजार मयूर’ नाम दिइएका यी झुम्का मयूरबाट प्रेरित डिजाइनमा तयार पारिएका छन्। २२ क्यारेट सुनबाट निर्मित झुम्काको खुद तौल १६.५१४ किलोग्राम रहेको छ। अघिल्लो विश्व कीर्तिमानभन्दा पाँच गुणाभन्दा बढी तौलका यी झुम्का तयार गर्न दक्ष कालिगडलाई महिनौँ लागेको थियो।
संयुक्त अरब इमिरेट्सका अर्थतन्त्र तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तौक अल मारीले दुबई गोल्ड डिस्ट्रिक्टस्थित जोयअलुक्कासको शोरुममा झुम्का सार्वजनिक गरेका थिए। कार्यक्रममा गिनिज वर्ल्ड रेकर्ड्सका प्रतिनिधिले जोयअलुक्कास समूहका अध्यक्ष जोय अलुक्कास र जोन पल अलुक्कासलाई दुईवटा कीर्तिमानका प्रमाणपत्र हस्तान्तरण गरेका थिए। जोय अलुक्कासले सुनका झुम्काले दुईवटा विश्व कीर्तिमान कायम गर्नु विश्वव्यापी उपलब्धि भएको बताएका छन्। यी झुम्का बिक्रीका लागि राखिने छैनन्। बरु, कलाकृतिका रूपमा संरक्षण गरी दुबईमै स्थायी रूपमा प्रदर्शन गरिनेछ।
सुन तथा गहना व्यापारको केन्द्र बन्दै गोल्ड डिस्ट्रिक्ट
दुबईको देइरास्थित गोल्ड डिस्ट्रिक्टमा सुन तथा गहनासँगै अत्तर, सौन्दर्य सामग्री र जीवनशैलीसम्बन्धी सामानका एक हजारभन्दा बढी खुद्रा व्यवसायी सञ्चालनमा छन्। यस वर्षको सुरुदेखि यहाँ सुनको थोक कारोबार गर्ने कार्यालयको सङ्ख्या २० प्रतिशत र सुन, गहना, बहुमूल्य पत्थर तथा महँगा घडीमा विशेषज्ञता भएका नयाँ पसलको सङ्ख्या १५ प्रतिशतले बढेको बताइएको छ।
गोल्ड डिस्ट्रिक्टमा मध्यपूर्वकै ठूलो सुन तथा गहना व्यापार प्रदर्शनी आयोजना गर्ने योजना पनि अघि बढाइएको छ। बढ्दो व्यावसायिक मागलाई सम्बोधन गर्न क्षेत्र विस्तारको काम भइरहेको छ।
गोल्ड डिस्ट्रिक्टका वरिष्ठ निर्देशक अल हरमौदीले आगामी वर्ष यस क्षेत्रमा स्थानान्तरण हुने कम्पनीको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेका छन्। यसका लागि थप कार्यालय तथा खुद्रा पसल सञ्चालन गर्न आवश्यक स्थान उपलब्ध गराउने तयारीसमेत भइरहेको छ। सुनको सडक निर्माण र विश्व कीर्तिमान कायम गरेका गहनाको प्रदर्शनजस्ता योजनाले दुबईको पर्यटन तथा सुन व्यापारलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।



