दुबई उडानको सफलता र सकारात्मक प्रभावसँगै पोखरेली व्यवसायीहरूले अब छिमेकी मुलुक भारतसँगको सिधा हवाई सम्पर्कलाई प्रमुख एजेन्डा बनाएका छन् । प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीसहित भारतका प्रमुख सहरहरूबाट पोखरामा सिधा उडान सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकताका साथ उठाउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित सिधा उडान सुरु गरेसँगै पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्रमा नयाँ उत्साह थपिएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अब विश्व बजारसँग प्रत्यक्ष जोडिन थालेपछि स्थानीय पर्यटन व्यवसायीहरू उत्साहित बनेका हुन् ।
यस सिधा उडानमार्फत मध्यपूर्व, युरोप र अमेरिका लगायतका मुलुकबाट विदेशी पर्यटकहरू काठमाडौँको ट्रान्जिटबिना नै सिधै पोखरा ओर्लिन थालेका छन् । यसले पर्यटकहरूको यात्रा समय र खर्च बचत गर्नुका साथै पोखराका तारे होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ व्यवसायीहरूलाई प्रत्यक्ष कारोबारको अवसर प्रदान गरेको छ । विगतमा विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका व्यवसायीहरूमा अहिले आशा पलाएको छ । यस उडानले वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुक जाने गण्डकी प्रदेशका नागरिकहरूलाई समेत आफ्नै क्षेत्रबाट यात्रा गर्ने सहज वातावरण बनाइदिएको छ ।



दुबई उडानको सफलता र सकारात्मक प्रभावसँगै पोखरेली व्यवसायीहरूले अब छिमेकी मुलुक भारतसँगको सिधा हवाई सम्पर्कलाई प्रमुख एजेन्डा बनाएका छन् । प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीसहित भारतका प्रमुख सहरहरूबाट पोखरामा सिधा उडान सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकताका साथ उठाउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् ।
नेपालको पर्यटन बजारमा भारतीय पर्यटकहरूको हिस्सा निकै महत्वपूर्ण मानिन्छ । पोखरा पर्यटन परिषद् लगायत विभिन्न व्यावसायिक संघसंस्थाहरूले भारतका दिल्ली, मुम्बई, बैंगलोर र बनारस जस्ता सहरहरूसँग सिधा हवाई उडान जोड्न सके पोखराको पर्यटनले ठूलो फड्को मार्ने विश्वास लिएका छन् । भारतीय पर्यटकहरू विशेषगरी गर्मी छल्न र धार्मिक पर्यटनका लागि नेपाल आउने गर्दछन् । पोखरा हुँदै मुक्तिनाथ, पशुपतिनाथ र लुम्बिनी जाने भारतीय तीर्थयात्रीहरूको संख्या उल्लेख्य छ । सिधा उडान हुँदा उनीहरूको यात्रा निकै सहज र छिटो हुने पोखरेलीहरूको भनाइ छ ।
यसका साथै, व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग थप हवाई प्रवेश मार्ग (एयर रुट) को अनुमति लिन कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । भैरहवा र पोखरा विमानस्थलका लागि पश्चिम क्षेत्रबाट हवाई प्रवेश मार्ग नपाउँदा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई उडान भर्न प्राविधिक र आर्थिक रूपमा केही कठिनाइ हुँदै आएको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा यस विषयलाई ठोस निष्कर्षमा पुर्याउन सके अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू पनि पोखरा आउन आकर्षित हुने व्यवसायीहरूको तर्क छ ।
हवाई सम्पर्कसँगै पोखरामा अध्यागमन सहजीकरणका विषयलाई पनि सम्बोधन गर्न माग गरिएको छ । भारतसँगको सिधा उडानले भारतीय पर्यटक भित्र्याउन मात्र नभई उपचार, अध्ययन र व्यापारिक प्रयोजनका लागि भारत जाने गण्डकी प्रदेश र आसपासका नेपाली नागरिकहरूलाई समेत ठूलो राहत पुग्नेछ । समग्रमा, दुबई उडानले सुरु गरेको अन्तर्राष्ट्रियकरणको यात्रालाई दिगो बनाउन भारतसँगको सिधा हवाई सम्पर्क अपरिहार्य रहेको पोखरेलीहरूको निष्कर्ष छ ।



