काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। दूरसञ्चारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनलाई शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्ने तयारी गरिएको प्रवक्ता जबराले जानकारी दिए।



दूरसञ्चारसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको सीआईबीले भण्डारीलाई पक्राउ गरेको भए पनि उनीमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसमेत रहेका भण्डारी दूरसञ्चार क्षेत्रका विभिन्न विषयमा संलग्न रहँदै आएका थिए। प्रहरीले अनुसन्धान अघि बढाउँदै आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने जनाएको छ।



