काठमाडौँ — राजधानीमा जारी जेन–जी आन्दोलन मंगलबार साँझ हिंसात्मक रूप लिँदा नेपाली कांग्रेसका शीर्ष नेताहरू निशानामा परेका छन्। प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड गरेका छन् भने पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनीसमेत गरेका छन्।

देउवा निवासमा आक्रमण

बुढानीलकण्ठस्थित देउवाको घर अगाडि मंगलबार साँझ ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए। प्रारम्भमा नाराबाजीमा सीमित विरोध पछि भीड आक्रामक बन्दै मुख्य गेट तोडेर भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ। घरको आँगनमा प्रवेश गरेका प्रदर्शनकारीले ढुंगामुढा गर्दै तोडफोड गरेका थिए। सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि स्थिति नियन्त्रणमा लिन केही समय लागेको थियो।

रमेश लेखकको घरमा आगजनी

त्यसैबेला अर्को समूहले काठमाडौँको नैकापस्थित पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी गरेको छ। प्रदर्शनकारीले घरभित्र रहेका सामानमा पेट्रोल हालेर आगो लगाएको बताइएको छ। दमकल र प्रहरी टोली तत्काल पुगे पनि घरमा आंशिक क्षति भएको स्रोतले जनाएको छ। यी घटनाहरू सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनसँग जोडिएका हुन्। सामाजिक सञ्जालमाथि नियन्त्रण, बढ्दो भ्रष्टाचार र आन्दोलनमा राज्य पक्षबाट भएको हिंसात्मक दमनको विरोधमा सुरु भएको प्रदर्शन देशभर फैलिएको छ। सोमबार मात्रै १९ जनाको मृत्यु र करिब ४०० जना घाइते भएपछि मंगलबार आन्दोलन अझ तीव्र बनेको हो।

सुरक्षाकर्मीको प्रतिक्रिया

प्रहरीले दुबै घटनास्थलमा स्थिति नियन्त्रणमा लिइसकेको जनाएको छ। संवेदनशील व्यक्तित्वका निवासमा सुरक्षा कडा पारिएको र राजधानीका अन्य स्थानमा समेत गस्ती बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय