सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताका परिवारलाई राज्यका तर्फबाट यसअघि भएको सहमतिअनुसार राहत तथा सहायता उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। उपचारका क्रममा मंगलबार देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। शव बुझ्न नमानेपछि कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन भइरहेको छ भने स्थानीय स्तरमा तनावको अवस्था देखिएको छ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले अपिल जारी गर्दै सरकारले मृतक परिवारसँग गरेको पूर्वसहमतिअनुसार राहत, सहायता र अन्य प्रतिबद्धता पूरा गर्ने बताएका छन्। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ।

गत १० साउनमा देवानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो। त्यसैगरी देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा गत बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग सात बुँदे सहमति गरेका थिए। उक्त सहमतिमा मृतकलाई सहिद घोषणा गर्ने, परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने, स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्नेलगायतका विषय समेटिएका थिए।

यसैबीच, गोली लागेर गम्भीर घाइते भएका रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको भए पनि चिकित्सकको प्रयासका बाबजुद मंगलबार उनको मृत्यु भएको हो।

रवीन्द्रको मृत्युपछि कप्तानगञ्जमा स्थानीयले उनलाई पनि सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन्। काठमाडौंमा समेत मृतकका आफन्तहरूले गृहमन्त्रीसँग सहमति कार्यान्वयनको माग गर्दै आश्वासन खोजिरहेका छन्। घटनामा गोली लागेर घाइते भएका अन्य सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय