सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा मंगलबार पनि प्रदर्शन जारी रहँदा पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध भएको छ। प्रदर्शनकारीहरूले पकलीदेखि कोशी ब्यारेजसम्मका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् भने विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रदर्शन चर्किएपछि इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधन सञ्चालन रोकिएको छ। आइतबार दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।



घटनापछि स्थानीय प्रशासनले देवानगञ्ज र हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ। प्रशासनले कर्फ्यु लागू भएका क्षेत्रमा कुनै पनि भेला, जुलुस वा प्रदर्शन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



