काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले आयोजना गरेको विशेष कार्यक्रममा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले देशमा सहकारीप्रति हेर्ने दृष्टिकोण फरक बनिरहेपनि देव दर्शन सहकारीले आजको दिनसम्म बचतकर्ताको मन जित्न सफल भएको बताउनु भयो ।
सांसद श्रेष्ठले बचतकर्तालाई आफ्नो बचत सुरक्षित भए नभएको बारेमा थाहा पाउन सहकारीमा गएर बेलाबेलामा बुझ्नु पर्ने र एकाघरका व्यक्ति संचालक समितिमा बसेर संचालन गरेको सहकारीप्रति सजग हुन पनि आग्रह गर्नुभयो । उहाँले देव दर्शन सहकारीका संचालक स्थानीय व्यक्ति, समाजसेवी, व्यवसायी र उहाँको परिवार नै इज्जतदार परिवार भएकाले त्यस्तो व्यक्तिको नेतृत्वमा रहेको सहकारीमा रकम ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो ।



सहकारीका अध्यक्ष राम नारायण घिमिरेले अहिले सहकारीमा बचतकर्ताले बचत गर्न डराउने अवस्था सिर्जना भइरहे पनि सहकारीले बचतकर्ताको विश्वास जित्न आजका दिनसम्म सफल भएको बताउनु भयो । उहाँले सहकारीका संचालक र बचतकर्ता दुबै पक्ष इमान्दार भएकै कारण छोटो समयमा नै सहकारीले धेरैको मन जित्न सफल भएको दाबी गर्नुभयो । अध्यक्ष घिमिरेले बचतकर्ताले बचत मात्रै गरेर नहुने र आफुले बचत गरेको सहकारीमा समय समयमा गएर सहकारीको अवस्था बुझ्न पनि सुझाव दिनुभयो ।
अध्यक्ष घिमिरेले आ.ब. २०८०÷०८१ सम्म आईपुग्दा २ हजार ९ सय ६ जना शेयर धनी रहेको र संस्थाको शेयरपूँजी ५ करोड ६ लाख १९ हजार १ सय रुपैयाँ भएको जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा ९५ करोड ८५ लाख ८२ हजार ५ सय ८५ रुपैयाँ कर्जा लगानी भएकोमा आ.ब. २०८०÷०८१ को अन्त्यसम्ममा ९१ करोड ८२ लाख ९९ हजार १ सय ५१ रुपैयाँ कर्जा लगानी बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले आ.ब. २०८०÷०८१ मा सस्थाले ३९ लाख २५ हजार ८ सय ७ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको स्पष्ट पार्नुभयो । उहाँले संस्थाले आ.ब. २०८०÷०८१ को अन्त्यसम्म कूल कारोबार १ अर्ब १० करोड ६ लाख २७ हजार ९ सय ४७ रुपैयाँ रहेको जानकारी गराउनु भयो ।
सहकारीको १६औं बार्षिक साधारण सभाबाट पुनः अध्यक्षमा रामनारायण घिमिरेलाई नै चुनेको छ । अध्यक्ष घिमिरेको नेतृत्वमा ७ सदस्यी संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएका हुन् ।



