काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव बढ्ने अनुमान छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।



यस्तै, कञ्चनपुर, कैलाली, डडेलधुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, संखुवासभा, रामेछाप र खोटाङ भई बहने साना नदीमा पनि बहाव उल्लेख बढ्ने सम्भावना छ ।
सोमबार बिहानको मापनमा कोसी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको जलसतह सतर्कता तहभन्दा तल छ । कोसी र नारायणी नदी जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।



