काठमाडौं । विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ सञ्चालन हुनेछ ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशैभर एकैपटक एपीभी खोप अभियान सञ्चालन गरिएको हो । मन्त्रालयले देशभर करिब १७ लाख किशोरीलाई खोप दिइने अनुमान गरेको छ ।

यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

यस्तै ५४ हजार १६० स्वयंसेवक खटाइने छन् भने १५ हजार ६७४ सुपरीवेक्षक संलग्न हुने छन् ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले एचपिभी खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय