देशका अधिकांश भूभागहरूमा पछिल्ला दिनहरूमा तापक्रम उल्लेखनीय रूपमा बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर चल्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका मौसमविद्का अनुसार मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। आगामी केही दिनसम्म तापक्रम अझै बढ्ने सम्भावना रहेको भन्दै जोखिम क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।



तातो हावाको प्रत्यक्ष असरका रूपमा छाला पोल्ने, बिमिरा आउने, शरीर कमजोर हुने, रिँगटा लाग्ने, डिहाइड्रेसन हुने, र गम्भीर अवस्थामा बेहोस हुने वा ज्यानको समेत जोखिम हुने बताइएको छ। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई तातो मौसममा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्।
सतर्कता अपनाउने सुझावहरू:
दिउँसोको कडा घाममा बाहिर ननिस्कनु
प्रशस्त पानी पिउने
हल्का र आरामदायक कपडा लगाउने
आवश्यकता अनुसार चिकित्सकको सल्लाह लिने
मौसम पूर्वानुमान महाशाखाले सबैलाई सुरक्षित बस्न र अत्यधिक गर्मीका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।



