अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ११, ललितपुरमा १८, भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । त्यसबाहेक काभ्रेमा १०, मकवानपुरमा ३, पाँचथरमा ४, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा झापामा १ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।



काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. २ मसिनेमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
भक्तपुरमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका पाँच जानको मृत्यु भएको हो । बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ । बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएका छन् ।
यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको छ ।
काभ्रेमा १० जनाको मृत्यु भएको छ । ८ जना घाइते तथा १४ जना बेपत्ता छन् । विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।
त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको तथा ३३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा चार जनाको मृत्यु भएको छ । वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो ।
साथै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन् ।



