काठमाडौं, वैशाख ७ – बालबालिकाको पोषण र स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले देशभर भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि वितरण सुरु गरिएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत चालू चरणमा ६ देखि ५९ महिना उमेर समूहका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य लिएको छ।



त्यसैगरी, १ देखि ५ वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाउने सरकारको योजना रहेको छ। कार्यक्रम सञ्चालनका लागि देशभरबाट झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भिटामिन ‘ए’ को कमीका कारण बालबालिकामा दृष्टिदोष, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास, तथा मृत्युको जोखिम समेत हुने भएकाले यस्तो कार्यक्रमले दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम पहिलो पटक वि।सं। २०५० मा आठ जिल्लाबाट सुरु गरिएको थियो। त्यसपछि क्रमशः विस्तार गर्दै वि।सं। २०५९ देखि देशभर लागू गरिएको हो। स्वास्थ्य विज्ञहरूले भिटामिन ‘ए’ ले बालबालिकाको आँखा, छाला, तथा रोग प्रतिरोधी क्षमता सुदृढ बनाउने उल्लेख गरेका छन्। त्यस्तै, जुकाको औषधिले आन्द्रामा बस्ने परजीवी नष्ट गरी बालबालिकाको पोषणमा सकारात्मक असर पुर्याउँछ। स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले घरदैलोमै पुगेर औषधि वितरण गरिरहेका छन्। अभिभावकहरूलाई पनि समयमै औषधि खुवाउन आग्रह गरिएको छ।



