काठमाडौं – संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल र विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
संविधान दिवसको मुख्य समारोह संघीय राजधानी काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको छ। मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ।



मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले मार्चपास प्रस्तुत गरेका छन्। विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले पनि झाँकी र सांस्कृतिक प्रस्तुति दिएका छन्। कार्यक्रममा नेपालको संविधान, राष्ट्रिय एकता तथा लोकतान्त्रिक व्यवस्थाको महत्व झल्काउने गतिविधि प्रस्तुत गरिएको छ। संविधान दिवसका अवसरमा देशका विभिन्न स्थानमा पनि विविध कार्यक्रम आयोजना भइरहेका छन्। सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा संविधान दिवसको अवसरमा कार्यक्रम, अन्तरक्रिया तथा शुभकामना आदानप्रदानका गतिविधि सञ्चालन गरिएका छन्।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्। उनीहरूले संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राष्ट्रिय एकता तथा समृद्धिका लागि सबै पक्षलाई जिम्मेवार भएर अघि बढ्न आह्वान गरेका छन्। संविधान दिवसले संविधान निर्माणका क्रममा भएका राजनीतिक तथा सामाजिक परिवर्तनलाई स्मरण गराउँदै संविधानमा व्यवस्था गरिएका अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र राज्य सञ्चालनका आधारभूत प्रावधानप्रति नागरिकको ध्यानाकर्षण गराउने अवसरका रूपमा पनि लिइँदै आएको छ। संविधान जारी भएको दिनलाई राष्ट्रिय महत्वको दिवसका रूपमा मनाउँदै प्रत्येक वर्ष असोज ३ गते विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ।



