काठमाडौं – आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सहकारी दिवसको मूल नाराः “उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” रहेको छ। प्रत्येक वर्ष चैत २० गते यो दिवस मनाउने परम्परा रहेको छ। सहकारी क्षेत्रले देशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको तथ्याङ्क सार्वजनिक गरिएको छ। हाल देशभर करिब ३० हजार सहकारी संस्था सञ्चालनमा छन्। यी सहकारीमा झन्डै ६० लाख सदस्य आबद्ध रहेका छन्।
सहकारीहरूले प्रत्यक्ष रूपमा करिब ५० हजार जनालाई रोजगारी उपलब्ध गराएको छ भने पाँच लाख नागरिकलाई अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरेको छ। कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान करिब ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ।



नेपालमा सहकारी संस्था बैंकिङ, बचत–ऋण, उत्पादन, उपभोक्ता सेवा, कृषिजन्य व्यवसाय र अन्य विभिन्न क्षेत्रमा सक्रिय छन्। दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू, पुरस्कार वितरण, सेमिनार तथा सचेतना अभियान सञ्चालन गरी सहकारीको योगदान र पारदर्शिता प्रवर्द्धन गर्ने प्रयास गरिएको छ। विशेषज्ञहरूले सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र उद्यमशील बनाउन नीति तथा नियमनमा सुधार आवश्यक रहेको बताउँछन्। स्थानीय तहमा समेत सहकारीहरूलाई व्यवस्थित गर्दै सदस्यहरूको हितमा काम अघि बढाइने लक्ष्य राखिएको छ।



