काठमाडैं । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयले असार २९ गतेसम्म ८ लाख १६ हजार ४ सय ५ हेक्टर जमीनमा रोपाइँ भएको जनाएको छ । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब १ लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ । कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो ।



गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयले आइतबारसम्म संकलन गरेको तथ्यांकमा देशका केही भागमा रोपाइँ भइरहेको छ । आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०-८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । देशमा करिब १४ लाख हेक्टर जमीनमा रोपाइँ हुने गर्दछ ।
यसैगरी सुनसरीमा पानी नपर्दा विउ ब्याडमै सुक्न थालेको छ भने रोपिएका धान पनि सुक्न थालेका छन्। पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ अझै हुन नसकेको हो । आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको विउ नै सुक्न थालेको छ । गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको तर यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइ भएको छ । सुनसरीमा गत वर्ष ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।



