काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको समग्र विकासका लागि नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन सोच आवश्यक रहेको बताएका छन् ।
भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्र निर्माणको नयाँ चरणमा प्रवेश गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। शाहका अनुसार लोकप्रिय अभिव्यक्तिभन्दा व्यवहारिक काम र जनताको विश्वास जित्ने शासन प्रणाली नै आजको आवश्यकता हो ।



आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने चर्चा चलिरहेकै बेला शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा काभ्रे जिल्लामा मात्रै करिब २५ सय घर निर्माणमा संलग्न भएको स्मरण गर्दै उनले गोरखा सहित देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दा प्राप्त अनुभवले आफूलाई राष्ट्र निर्माणबारे गहिरो बुझाइ दिएको बताएका छन् ।
नेपालजस्तो भूकम्पीय जोखिमयुक्त मुलुक केवल प्राविधिक दृष्टिकोणबाट मात्र सुरक्षित नहुने उल्लेख गर्दै उनले भौगोलिक संरचना र सामाजिक विविधतालाई समेत ध्यानमा राखेर समग्र विकास मोडेल आवश्यक रहेको बताएका छन्। यही बुझाइका कारण भारतमा संरचनात्मक इन्जिनियरिङ अध्ययन गरेर विदेशमा बस्ने अवसर त्यागी स्वदेश फर्किएको उनले बताएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाहेको खण्डमा नागरिकको जीवनस्तर सुधार्न उल्लेखनीय काम गर्न सकिने प्रमाणित भएको बताए। महानगरमा लागू गरिएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको संकेत छ ।
आफ्नो आगामी राजनीतिक यात्राको उद्देश्य स्पष्ट पार्दै शाहले नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु नै आफ्नो मूल लक्ष्य रहेको बताएका छन् । उनले अल्पकालीन निर्णय र लोकप्रिय नाराको राजनीतिबाट बाहिर निस्केर जनताको भरोसा जित्ने इमानदार नेतृत्वको आवश्यकता औँल्याएका छन् ।
पछिल्लो समय झापा–५ बाट निर्वाचनमा होमिने चर्चालाई थप बल पुग्ने गरी उनले राष्ट्र निर्माणलाई साझा अभियानका रूपमा अघि बढाउने उल्लेख गर्दै सुरक्षित भविष्य चाहने सबै नेपालीलाई यस यात्रामा सहभागी हुन आह्वान गरेका छन् ।



