दैनिक ६ सय मेगावाटका दरले आगामी पाँच वर्षसम्म भारतलाई विद्युत् बिक्री गर्न सरकारले द्विपक्षीय विद्युत् खरिद सम्झौता (पिपिए) गर्न लागेको छ । गत वर्ष जेठमा दुई सय मेगावाटको पिपिए गरेको विद्युत् प्राधिकरणले यही बर्खाभित्र थप चार सय मेगावाट निर्यात सुनिश्चित गर्ने लक्ष्य राखेको छ । विगत तीन वर्षदेखि अल्पकालीन विद्युत् व्यापारअन्तर्गत भारतको प्रतिस्पर्धी मूल्यमा विद्युत् निर्यात गरिरहेको प्राधिकरणले यो सम्झौता भएपछि भने ६ सय मेगावाट बिजुली नियमित रूपमा तोकिएको मूल्यमा निर्यात गर्न सक्नेछ । अहिले भने निर्यात परिमाण र बिक्रीदर प्रत्येक दिन परिवर्तन हुने हुँदा नेपालमा उत्पादित बिजुली लक्ष्यअनुसार निर्यात गर्न असहज भइरहेको छ ।
मध्यकालीन सम्झौताअन्तर्गत दैनिक ६ सय मेगाावट निर्यात सुनिश्चित हुने गरी प्राधिकरणले गत जेठमा दुई सय मेगावाटको पिपिए गरेकोमा भारतले एक सय १० मेगावाट विद्युत् निर्यात गर्न यसअघि नै स्वीकृत दिइसकेको छ । प्राधिकरणले ८३.४२ मेगावाटको सोलु खोला (दुधकोशी) र २६.१९ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली यो स्किमअन्तर्गत निर्यात गरेको थियो । दुवै आयोजनाको बिजुली भारतको हरियाणा प्रदेशमा बिक्री गरिएको थियो । गत वर्ष पिपिए भएमध्ये ९० मेगावाटको भने स्वीकृति लिन बाँकी छ ।



प्राधिकरणले यो वर्ष पिपिए गर्न लागेको चार सय मेगावाटमध्ये भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन) र पावर ट्रेडिङ कम्पनी (पिटिसी)सँग दुई–दुई सय मेगावाट मध्यकालीन मोडेलमा बिक्री गर्ने गरी सम्झौता गर्न लागेको हो । गत माघमा भारतले चार सय मेगावाट विद्युत् मध्यकालीन मोडेलमा किन्ने आशयपत्र विद्युत् प्राधिकरणलाई पठाएको थियो । त्यसपछि प्राधिकरणले द्विपक्षीय सम्झौताको मस्यौदा भारतमा पठाएको छ । त्यहाँबाट स्वीकृत भएपछि अन्तिम सम्झौता हुने प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले जानकारी दिए ।
भारतमा विद्युत् बिक्री गर्न सम्झौता गरेर मात्रै पुग्दैन । सम्झौता भएपछि भारत सरकारबाट आयोजना तोकेर विद्युत् निर्यातको थप स्वीकृत पनि लिनुपर्छ । त्यसका लागि पनि आयोजना छनोट गरेर पठाएको प्राधिकरणको भनाइ छ । अहिले भारतसँग अल्पकालीन विद्युत् व्यापार गर्दै आएको प्राधिकरणले ‘डे अहेड’ बजारमा प्रतिस्पर्धी मूल्यमा विद्युत् खरिद–बिक्री गर्दै आएको छ ।
विद्युत् प्राधिकरणले पहिलाको भन्दा महसुल दर ९मूल्य० बढाएर निर्यात गर्ने गरी सम्झौताको मस्यौदा पठाएको छ । यसअघि प्रतियुनिट ५।२५ भारुमा विद्युत् खरिद–बिक्री गर्ने गरी भारतसँग मध्यकालीन विद्युत् खरिद–बिक्री सम्झौता गरिएको थियो ।
यो बर्खामा १२ सय मेगावाट निर्यात गर्ने विद्युत् प्राधिकरणको लक्ष्य
विद्युत् प्राधिकरणले यसपालि बर्खामा १२ सय मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ । भारतले स्वीकृत दिने अपेक्षासमेत राखेको प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले बताए । ‘भारतले के–कति विद्युत् निर्यात गर्न स्वीकृत दिन्छ, थाहा भएन । तर, भारतले स्वीकृत दिएको अवस्थामा यो बर्खामा दैनिक १२ सय मेगावाट विद्युत् निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट आठ सय मेगावाट विद्युत् निर्यात गर्न सकिन्छ । यसैगरी, बिहारसँग जोडिएका अन्तरदेशीय प्रसारणलाइनबाट चार सय मेगावाट र टनकपुर अन्तरदेशीय प्रसारणलाइनबाट ८० मेगावाट विद्युत् निर्यात गर्न सकिन्छ ।’
भारतले मध्यकालीनसहित दैनिक ६ सय ९० मेगावाट विद्युत् निर्यात गर्न नेपाललाई स्वीकृत दिइसकेको छ । यसबाहेक थप विद्युत् निर्यात गर्न पनि प्राधिकरणले प्रस्ताव पठाएको छ । यतिवेला विद्युत्जडित क्षमता झन्डै ३२ सय मेगावाट छ । आगामी असारसम्म ३३ सय मेगावाटभन्दा बढी हुने अनुमान प्राधिकरणको छ । नयाँपत्रीका बाट साभार



